प्रादेशिक आयोजना व्यवस्थापन इकाइ

नेपाल सरकार (Government of Nepal - GoN) ले अन्तर्राष्ट्रिय विकास संघ (International Development Association) बाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (Provincial and Local Roads Improvement Program - PLRIP) कार्यान्वयन गर्नका लागि विकास ऋण प्राप्त गरिरहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तथा प्रादेशिक सडक सञ्जालहरूको बाह्रै महिना चल्ने (all-weather) पहुँच, दक्षता र उत्थानशीलता (resilience) मा सुधार गर्नु, राष्ट्रिय वा प्रादेशिक सडक सञ्जालसँग हालसम्म नजोडिएका दुर्गम पालिकाहरूलाई महत्त्वपूर्ण पहुँच (connectivity) प्रदान गर्नु, र सहभागी प्रादेशिक सरकार तथा स्थानीय तहहरूको क्षमता सुदृढ गर्नु हो।

चालू आर्थिक वर्ष २०८०/८१ देखि PLRIP केही छानिएका गाउँपालिका/नगरपालिकाहरू सहित तीनवटा प्रदेशहरू (मधेस, कर्णाली र सुदूरपश्चिम) मा कार्यान्वयन भइरहेको छ र कार्यक्रमका आगामी चरणहरूमा यसलाई सबै प्रदेशहरूमा विस्तार गरिनेछ। प्रादेशिक स्तरमा कार्यक्रम व्यवस्थापन गर्नका लागि प्रत्येक प्रदेशमा पूर्वाधार विकास निर्देशनालय (Infrastructure Development Directorate - IDD) अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन एकाइ (Provincial Project Management Unit - PPMU) स्थापना गरिएको छ। स्थानीय पूर्वाधार विभाग (Department of Local Infrastructure - DoLI) अन्तर्गत स्थापना गरिएको केन्द्रीय कार्यक्रम समन्वय एकाइ (Central Program Coordination Unit - CPCU) संघीय सरकारको तर्फबाट समन्वयकारी भूमिकामा रहनेछ भने पूर्वाधार विकास कार्यालयहरू (Infrastructure Development Offices - IDOs) र सहभागी स्थानीय तहका प्राविधिक शाखाहरू (Technical Units) यस कार्यक्रमका मुख्य कार्यान्वयन गर्ने निकायहरू हुनेछन्।